Tuesday, February 27, 2018

शेयरका लागि आवेदन दिँदा अनिवार्य पुग्न पर्ने मापदण्डहरू [यी जलविद्युतमा शेयर अवशर]

रसुवागढी र साञ्जेन (साञ्जेन र माथिल्लो साञ्जेन) आयोजनाका लागि आगामी फागुन ११ गतेबाट प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी हुने भएको छ । यसमा सञ्चय कोषका कर्मचारी, सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था रहेको छ । निश्चित वर्गका लागि शेयर जारी गर्न लागिएको हुँदा योग्यता प्रमाणित गर्न सजिलोका लागि परिचयपत्र हेर्नुपर्ने सम्बन्धित आयोजना प्रमुखहरूले जानकारी दिए । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र दुवै साञ्जेन आयोजना अघि बढाइरहेको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडद्वारा बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
शेयरका लागि आवेदन दिँदा अनिवार्य रूपमा डिम्याट खाता नम्बर उल्लेख गर्नुपर्ने र सी–आस्बा प्रणालीमार्फत आवेदन गर्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि आवेदकहरूले सी–आस्बा सेवा प्रदान गर्ने बैङ्क तथा वित्तीय संस्थाबाट शेयरको फारम भर्नु पर्नेछ ।
रसुवागढीमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ पुस २० गतेसम्म सञ्चयकर्ताका रूपमा रहेका कर्मचारीले शेयर भर्न पाउनेछन् । त्यसैगरी २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ मङ्सिर २६ गतेसम्म सञ्चयकर्ताका रूपमा रहेका कर्मचारीहरूले साञ्जेनको शेयरका लागि आवेदन दिन सक्ने छन् ।
सञ्चय कोषको सञ्चयकर्ताका रूपमा शेयर परेका व्यक्तिले कर्मचारी वा स्थानीय बासिन्दाका रूपमा शेयर आवेदन दिन नपाइने सिद्धार्थ क्यापिटल प्रमुख ध्रुव तिमल्सिनाले बताए । सिद्धार्थ क्यापिटल रसुवागढीको आईपीओ विक्री प्रबन्धक रहेको छ । त्यसैगरी साञ्जेनको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानी कोषले लिएको छ ।
पहिलो चरणको शेयर निष्कासन सकिएपछि दोस्रो र तेस्रो चरणको प्रक्रिया अघि बढाइने रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख माधव पोखरेलले जानकारी दिए । ‘आर्थिक वर्षभित्र दोस्रो चरणमा रसुवाका स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत शेयर निष्कासन गरिनेछ,’ उनले भने, ‘पहिलो र दोस्रो चरणमा पूरा शेयर विक्री नभएमा त्यसलाई पनि गाभेर तेस्रो चरणको शेयर विक्री आगामी आवको मध्यसम्ममा गरिनेछ ।’
दुवै कम्पनीलाई घिसिङको निर्देशन समयमै आयोजना सम्पन्न गर्न दुवै कम्पनीलाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने समयसम्म प्रसारण लाइन तथा सबस्टेशन निर्माण भइसक्ने गरी काम भइरहेको पनि घिसिङले बताए । हालसम्म रसुवागढीको करीब ६० प्रतिशत, साञ्जेनको ५८ प्रतिशत र माथिल्लो साञ्जेनको ६८ प्रतिशत कम सकिएको सम्बन्धित कम्पनीका आयोजना प्रमुखहरूले जानकारी दिए । रसुवागढीले २०७६ पुस १५ देखि विद्युत् उत्पादन शुरू गर्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी साञ्जेनले २०१९ को जुलाई र माथिल्लो साञ्जेनले २०१९ को अप्रिलदेखि विद्युत् उत्पादन गर्ने बताइएको छ । दुवै परियोजनाको प्रति मेवा लागत रू. १५ करोड ननाघ्ने घिसिङको दाबी छ ।

साभार :- http://ojhelkokhabar.com/archives/8340

No comments:

Post a Comment